विदेशको झल्को दिने कलंकी–कोटेश्वर सडक, दुई महिनाभित्र सम्पन्न हुने
काठमाडौं – चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप । यो कुनै विदेशको सडकको बयान होइन । काठमाडौंको कलंकीदेखि कोटेश्वरसम्मको यात्रा गर्दा अब तपाईले यस्तै सडक देख्न पाउनु हुनेछ । चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड निर्माण कार्य अबको दुई महिना भित्रै सम्पन्न हुँदैछ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो सडक खण्डमा अब ‘डबल लेयर’को पीच गर्ने काम मात्रै बाँकी रहेको छ । कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिएको हो । सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिएको र सडक डबल पीच गर्ने काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालले बताउनुभयो । समय थप गरेर डिसेम्बरसम्ममा सबै काम सक्ने गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । थप गरिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्यअनुसार बाँकी निर्माणको काम तीब्र रुपमा अघि बढाइएको चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ । एक लेयरको पीच गर्ने काम कलंकीदेखि कोटेश्वर...